कांग्रेस प्रदेश २ मा रामसरोज यादवलाई समर्थन गर्न निधिले गरे सभापति देउवा र महामन्त्री थापालाई आग्रह

समाचार

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको नेता विमलेन्द्र निधिले प्रदेश २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग छुट्टाछुट्टै छलफल गरेका छन् । कांग्रेसको प्रदेश २ को अधिवेशन पुस ६ गते हुँदैछ ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा निधिले नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई सभापतिमा समर्थन गर्नका लागि आग्रह गरेका थिए ।

सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई आफूले समर्थन गर्ने निर्णय गर्दा प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव पनि सँगै रहेको स्मरण गराउँदै निधिले यादव वरिष्ठ नेता पनि भएकोले समर्थन गर्नुपर्ने तर्क अघि सारेका थिए ।

प्रदेश २ को सभापतिका लागि यादवले उम्मेदवारी घोषणा गरेपछि अर्का नेता कृष्ण यावदले पनि घोषणा गरेका छन् । कृष्णले सभापति देउवाको समर्थनमा आफू उम्मेदवार भएको बताउदै आएका छन् ।

सभापति देउवाले यस विषयमा कृष्ण यादवसँग कुराकानी गर्ने बताएको निधिले जानकारी दिए ।

प्रदेश २ मा पुस ६ गते उम्मेदवारको मनोनयन दर्ता र पुस ७ गते चुनाव हुने कार्यक्रम तय भएको छ । प्रदेश‍ २ का आठवटै जिल्लाको अधिवेशन अहिलेसम्म हुन सकेको छैन ।

यस्तै निधिले नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

महामन्त्रीमा निर्वाचित थापा र अर्का युवा नेता चन्द्र भण्डारी नेता निधिलाई भेट्न शनिबार उनको निवास मध्यबानेश्वर गएका थिए । भेटमा प्रदेश २ को अधिवेशन लगायतका विषयमा कुराकानी भएको थियो ।

नवनिर्वाचित महामन्त्री थापा र भण्डारीसँग निधिले प्रदेश २ को सभापति पदमा रामसरोज यादवलाई समर्थन गर्न अनुरोध गरेका थिए ।  निधि र थापाबीच आइतबार फेरि यसबारे छलफल गर्ने सहमति भएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ