हत्यारालाई पक्राउ नगरेको भन्दै राजमार्ग अवरुद्ध

समाचार

सिरहा, ५ पुस । जिल्लाको गोलबजार तनावग्रस्त बनेको छ । छुराप्रहार गरि हत्या गर्ने अभिव्यक्तिलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले पुरा नगरेको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेका हुन् ।

गोलबजार नगरपालिका ६ का बासिन्दा विहान ११ बजेदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । २४ घण्टाभित्र छुरा प्रहार गर्नेलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले पुरा नगरेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेको उनीहरुको भनाई छ ।

अवरुद्ध सडक खुलाउन प्रहरीले माइकिङ गरेपनि आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेका छन् । आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरे । तर आन्दोलनकारी भागेनन् । लाठी बोकेर सडकमा उत्रेका सयौं महिला र पुरुषले प्रहरीलाई नै लखेटेका छन् ।

बल प्रयोग गरेर राजमार्ग खुलाउने सुरक्षाकर्मीको प्रयास आन्दोलनकारीले असफल पारेका छन् । आन्दोलनको नेतृत्व गर्ने शिवशरण सदाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाए ।

उनले दुई आन्दोलनकारीलाई प्रहरीले टाउँको फुटाएको र उनीहरुको उपचारका लागि भुमिजा अस्पताल पुर्याएको बताए ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यु भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् ।

उनको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव भने परिवारले बुझेका छैन ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाईतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आन्दोलनकारीको माग छ । उनीहरुले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचोहेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ