भौतिक पूर्वाधारमन्त्री यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता

समाचार

काठमाडौं, ५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादव र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओबीच भेटवार्ता भएको छ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री यादव र राजदूत बुरवाओबीच शिष्टाचार भेटवार्ता भएको हो ।

राजदूत बुरवाओले उक्त अवसरमा नेपालको पूर्वाधार विकासमा फ्रान्स सरकार सहयोग गर्न इच्छुक रहेको तथा नेपाल र फ्रान्स दुवै पहाडी देश भएको र फ्रान्सको विशेष अनुभव रहेको केवल कार क्षेत्रमा तत्कालै सहयोग गर्न सकिने बताए । 

सोही अवसरमा मन्त्री यादवले नेपाल छिमेकी राष्ट्रहरुका साथसाथै दौत्य सम्बन्ध भएका सबै मित्र राष्टहरुसँग असल सम्बन्ध र हातेमालो गर्दै विकासका लक्ष्य प्राप्त गर्न कटिबद्ध रहेको कुरा बताइन् ।

यसका साथै नेपाल सरकार राष्ट्र संघको दीगो विकास लक्ष्य, २०३० का यातायात लगायत सबै क्षेत्रका लक्ष हासिल गर्न सबै मित्र राष्ट्रहरुसँग प्राविधिक र आर्थिक सहयोगका लागि इच्छुक रहेको कुरा व्यक्त गरिन् । 

उनले फ्रान्स सरकारले काठमाडौं उपत्यकमा केवल कार निर्माणको लागि सम्भाव्यता अध्ययनमा गरेको सहयोगको लागि धन्यवाद दिँदै नेपाल सरकारका सम्बद्ध निकायहरु र फ्रान्सेली राजदूतावास समेतसँग छलफल एवम् परामर्श गरी योजना कार्यन्वयनको विषय अगाडी बढाइने मन्त्री यादवले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ