जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ मा नेपाली कांग्रेस अधिवेशन आज हुँदैछ । विवादका कारण प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । प्रदेश २ को नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
संस्थापन पक्षले प्रदेश २ को सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ भने निधिले प्रदेश २ का मन्त्री रामसरोज यादवलाई अगाडि सारेको छ ।
संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेश २ मा देउवा र निधि समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश २ मा बलियो पकड बनाएका भनिएको निधिको अग्निपरीक्षा पनि हो । सभापतिमा नराम्ररी पराजय भोगेका निधि आफ्नै आधार क्षेत्रमा आफ्ना उम्मेद्वारलाई जिताउन सक्छन् कि सक्दैनन् भन्ने कुरा सबैले चासोका साथ हेरिरहेका छन् ।
संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, उदयशमशेर राणा, रामहरि खतिवडा, आनन्द ढुंगाना, रमेश रिजालसहितका नेताहरुको बैठकले कृष्ण यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन र बुधबार प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।
तपाईको प्रतिक्रिया