नेपालगञ्ज, ८ पुस । नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार नेपालगञ्जमा भएको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागुऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतमा सहज रुपमा कारोबार हुँदा लागुऔषध नेपालमा सहजै भित्रिएको बताउँदै त्यसमा कडाइ गरिदिन आग्रह गरेको बताए ।
उनले हतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागुऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा भारतीय अधिकारीले उत्तर प्रदेशमा निर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए ।
नेपालको तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका एसपीको सहभागिता रहेको थियो ।
बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआइजीको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया