जनकपुरधाम, ९ पुस । प्रदेश २ को नामाकरणसम्बन्धि प्रक्रिया फेरि सुरु भएको छ । प्रदेशसभा बैठकमा बिहीबार नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् ।
बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी’, ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन् ।
सत्तारुढ जसपा र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् । ती प्रस्तावमा प्रतिपक्षी दल लोसपाले भनेसमर्थन गरेको छ ।
जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरे । प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन् ।
यस्तै माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साहले नामकरणसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । त्यस्तै अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको छ । पार्टीका तर्फबाट कानुन तथा प्रदेश मामिलामन्त्रीले सो प्रस्ताव पेस गरे ।
कांग्रेसले ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ । कांग्रेसका सांसद शिवचन्द्र चौधरीले प्रस्ताव पेस गरेका हुन् । कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेका छन् ।
एमालेका ७ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव पेस भएको छैन ।
कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जसपा ३९ सिटसहित ठूलो दलको रुपमा छ भने नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।
संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।
१०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पु¥याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारुढ गठबन्धनभित्रै फरक–फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पु¥याउनका लागि कठिनाइ देखिएको छ ।
हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा, लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा एकीकृत दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका छन् ।
कांग्रेस र नेकपा एकीकृतले आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउनका लागि जसपा, लोसपा, माओवादी केन्द्र वा एमालेको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, यी दुवै दललाई ठूलो संख्या आवश्यक पर्ने भएकाले सहमति जुटाउन कठिनाई हुने देखिन्छ ।
नामकरणका लागि पेस भएका प्रस्तावहरूमध्ये कुनै एकको पक्षमा दुई तिहाइ पु¥याउनु पर्दा चारवटा दलहरु मिल्नुपर्ने देखिन्छ । तर, जसपा आफ्नै अडानमा कायम रहे प्रदेशका अरु सबै दल मिले पनि दुई तिहाइ पुग्ने सम्भावना रहन्न ।
यसअघि २०७६ चैत ४ गते पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएका थिए । बिहीबार प्रस्ताव गरिएका नामहरुमा पनि दलहरुबीच सहमति नहुँदा सबै प्रस्तावहरू अस्वीकृत हुने अवस्था देखा परेको छ ।
प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ । छलफलमा भाग लिने अधिकांश सांसदले जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा जोड दिए भने कांग्रेस सांसद राजेश्वर साहले वीरगंजलाई राजधानी बनाउनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया