नेपाल र भारतका मन्त्रीले सुरु गरे किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण

समाचार

काठमाडौं, ९ पुस । पठन संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको किताब जात्राको विश्व यात्रा भारतको राजधानीदेखि सुरु भएको छ ।

दिल्लीको इन्डिया ह्याबिटेट सेन्टरस्थित लोधीरोडमा बिहीबार जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले संयुक्त रूपमा किताब जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरे ।

कार्यक्रम शुभारम्भ गर्दै मन्त्री आलेले किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल–भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडी भएको बताए ।

‘नेपाल–भारत सम्बन्ध राजनीतिक–कुटनीतिकमात्रै नभएर जन–जनको सम्बन्ध हो । त्यसैले हाम्रो संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध छ’ उनले भने, ‘नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो छ ।’

भारतीय मन्त्री रेड्डीले नेपाल–भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड दिए । ‘हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति पनि प्रयास भए पनि असफल हुँदै आएको छ’ उनले भने ‘आज पनि सबैलाई भन्छु हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन । हाम्रो सभ्यता, संस्कृति, भावना, सन्तऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकन आयाम एउटै छ । त्यसैले हामीबीच निरन्तर एकता कायम थियो, छ र हुनेछ ।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत नेपाल प्रिय देश रहेको उल्लेख गरे ।

उनले नेपाल र भारत दुवैको पर्यटन प्रबद्र्धन गर्न भारतले रामायण सर्किटको काम अघि बढाएको जानकारी गराए । त्यसका साथै बुद्ध, महाभारतजस्ता सह–सम्बन्धसहितका धार्मिक सर्किट निर्माणको परिकल्पना गर्न सकिने उनले बताए ।

जात्रामा पाँच सेसनमा बहस पनि हुनेछ भने अन्य साहित्यिक–सांस्कृतिक कार्यक्रम रहनेछ । नेपाल–भारत सम्बन्ध शीर्षकमा भारतमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी र एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले बहस गर्नेछन् ।

भारतीय स्तम्भकार तथा लेखक अतुल के. ठाकुर, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, पेङ्गुइन ¥यान्डम हाउसका वाणिज्य तथा गैराअख्यान सम्पादक मनिष खुराना, एनडिटिभीकी विदेश मामिला वरिष्ठ सम्पादक कादम्बिनी शर्मा र नेपालका वरिष्ठ फोटोपत्रकार विकास रौनियारबीच ब्लोजोमिङ लिटरेरी सिन इन नेपाल एन्ड इन्डियन पब्लिसिङ मार्केट शीर्षकमा बहस हुनेछ ।

नेपालको आर्थिक परिदृश्य ‘रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी एवं नेपाल भारत व्यापार’ शीर्षकमा आइएईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र रियान्डा बिज सर्भकाअध्यक्ष भरत रिजालले बहस गर्नेछन् । जसको सहजीकरण एपीवान एचडी टिभीका सह–सम्पादक समा थापाले गर्नेछिन् ।

भारतीय पठन परिदृष्यमा नेपाली साहित्यबारे कलाकार तथा लेखक हरिवंश आचार्य, आख्यानकार अमर न्यौपाने र कवि नवराज पराजुलीले टीकाराम यात्रीका साथमा बहस गर्नेछन् ।

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि ुकिताब यात्रा अनर अवार्ड प्रदान गर्नेछ । उक्त अवार्ड यस वर्ष कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ