लखनउ, ९ पुस । कोरोना–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ ।
यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री योगीले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेका हुन् । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।
कर्फ्यू जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । उनीहरुले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन् । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ ।
भारतको विभिन्न राज्यमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो छ । यसका साथै भाइरस संक्रमणबाट बच्न बजारमा ‘नो मास्क, नो सामान’ भन्ने सन्देशसहित व्यापारीलाई सचेत गराउन निर्देशन दिइएको छ । हरेक मानिसलाई मास्क अनिवार्य बनाएको छ ।
यसका साथै सरकारले देशको कुनै पनि राज्य वा विदेशबाट यूपीको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ–टेस्ट गर्न निर्देशन दिएको छ । यससँगै बस, रेल र विमानस्थलमा थप सतर्कता अपनाउन भनिएको छ ।
यसअघि मध्य प्रदेशको सरकारले राज्यमा रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको थियो । ओमिक्रोनको सम्भावित लहरलाई ध्यानमा राख्दै, मध्य प्रदेश रात्री कर्फ्यू लगाउने पहिलो राज्य हो । यहाँ पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यु जारी छ ।
तपाईको प्रतिक्रिया