काठमाडौं, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
भाइब्रेन्ट गुजरात शीर्षकको सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री मोदीले देउवालाई निम्तो दिएका हुन ।
विभिन्न देशका प्रधानमन्त्री लगायत शीर्ष नेताहरुको उपस्थिति रहने सम्मेलनमा नेपालका प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई निमन्त्रणा आएको छ ।
सम्मेलन २०२२ को जनवरी १० देखि १३ सम्म गुजरातमा आयोजना हुँदैछ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले तयारी अगाडि बढाएको छ ।
भारतमा ओमिक्रोम भेरियन्टका कारण भाइब्रेन्ट गुजरात सम्मेलन प्रभावित बन्न सक्ने आकलन भारतमा गरिएको छ । द्वीपक्षीय भ्रमण नभएकाले यदि सम्मेलन स्थगित भयो भने देउवाको भ्रमण पनि रद्द हुनेछ ।
गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेका हुन् ।
तपाईको प्रतिक्रिया