प्रदेश २ : प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत

समाचार

जनकपुरधाम, ११ पुस । प्रदेश नं. २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । 

बहुमत सांसदले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृति दिएको हो । यसअघि ८ पुसमा बसेको प्रदेश सभा बैठकमा कृषि विश्वविद्यालय सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

राजविराजमा कृषि र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न केहि दिनअघि प्रदेश सरकारले अध्यादेश ल्याएको थियो ।

राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ भने वीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ