काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुनुमा जनयुद्ध र मधेश विद्रोह कारक रहेको दाबी गरेका छन् ।
आइतबार माओवादी केन्द्रको आठौं महाअधिवेशनलाई शुभकाना दिँदै उनले मुलुकमा अब गणतन्त्रबाहेक कुनै पनि तन्त्रको विकल्प नरहेको बताए ।
‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए यो मुलुक संघीय गणतन्त्र मुलुक हुने थिएन,’ उनले भने, ‘संवैधानिक राजतन्त्रमा रुमल्लिएर बस्ने थियो होला ।’
जनयुद्धमा बेपत्ता भएका र मारिएकाले न्याय पाएको र उनीहरुले न्याया पाउनुपर्ने बताउँदै यादवले भने, ‘उत्पीडित, शोषित वर्गको न्याय, सम्मानका लागि यो महाधिवेशनले ठोस गति दिन सकोस् ।’
यादवले संविधान परिमार्जन र संशोधन आवश्यक रहेको समेत बताए। ‘संविधान जारी हुँदाका बखत आधाले कालो दिवस मनाएका थिए,’ उनले भने, ‘केहीले बत्ती समेत बालेका थिए । संविधानको संशोधन र परिमार्जन अत्यन्त महत्वपूर्ण छ ।’
कार्यक्रममा सहभागी एमाले महासचिव शंकर पोखरलप्रति कटाक्ष गर्दै संसद अवरुद्ध पार्ने हठ समेत त्याग्न आग्रह गरे । ‘अब संसदलाई केही प्राप्त हुनेवाला छैन,’ यादवले भने, ‘माधवजी संसदमा भएकाले संसद अवरोध गरेँ भन्नुहुन्छ । यस्ता किसिमका हठ त्यागौं ।’
तपाईको प्रतिक्रिया