लोसपा केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि धर्ना

समाचार

काठमाडौं, १२ पुस । अध्यक्ष महन्थ ठाकुरले विधि र पद्धति मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा सोमबार पनि धर्ना दिएका छन् ।

अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि जारी धर्नालाई सोमबार पनि निरन्तरता दिइएको हो । 

लोसपा नेता तथा हिन्दी भाषा अभियानी रमन पाण्डेयले आफूहरु पार्टीलाई लोकतान्त्रिक पद्धति र विधिअनुसार सञ्चालन गर्न माग राख्दै धर्ना दिइरहेको मधेशवाणीलाई बताए । 

उनले भने, ‘अध्यक्ष ठाकुरले गरेको निर्णय स्वीकार्न सकिँदैन, सच्याउनैपर्छ । पार्टीको नाम लोकतान्त्रिक भएर मात्र हुँदैन, त्योअनुसार आचरण पनि अपनाउनुपर्ने हो ।’

नेतृत्वले जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा पर्यवेक्षकलगायतमा गरेका नियुक्तिहरु पुनरावलोकन हुनुपर्ने माग राखी केन्द्रीय कार्यालय पुगेका छन् ।

पार्टीको कुनै पनि निर्णय विधि प्रकृया सम्वत् हुनुपर्ने, एक व्यक्ति एक पदको अवधारणा पार्टीमा लागु हुनुपर्ने, भातृ संगठनको गठन, सबै जिल्लामा पार्टी कार्यालयको स्थापना गरिनुपर्ने विषय समावेश गरिएको छ । यस्तै पार्टीका कार्यकारिणी समितिको नियमित बैठक बस्नुपर्ने मागले पनि प्राथामिकता पाएको छ ।

नेता पाण्डेयले लिखित र मौखिक रुपमा पार्टी अध्यक्ष, वरिष्ठ नेताद्वयलाई पार्टी विधानसम्वत् चलाउन र नचलाए विद्रोह गर्ने चेतावनी दिइसकेका छन् । चेतावनी बमोजिम उनीहरु केन्द्रीय कार्यालयमा धर्नामा बसे पनि अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ