सिरहा, १३ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लामा थप दुई दिन चक्काजामको आह्वान गरेको छ । जनमतको आन्दोलन समितिले किसानको पक्षमा गरिरहेको आन्दोलनलाई लम्ब्याउँदै मंगलबार र बुधबार पनि चक्काजाम गर्ने निर्णय गरेको छ ।
आन्दोलन समितिले विज्ञप्तिमार्फत मंगलबार र बुधबार समेत सिरहा जिल्लामा चक्काजाम यथावत रहने जनाएको हो ।
किसान आन्दोलनलाई एक्यवद्धता जनाउदै गरेको आमहडतालमा प्रशासनद्वारा किसानहरुमाथि भएको व्यापक दमनप्रति घोर भत्र्सना गर्दै पक्राउ परेका कार्यकर्ताको बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।
किसानको समस्या समाधान प्रति अग्रता नदेखाउनु उल्टै किसानमाथि प्रशासनले दमन नीति लिनु आफैमा निन्दनीय रहेको समितिले ठहर गरेको छ ।
पक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ ।
यसैगरी, किसान उपर लगाईएका झुठा मुद्दा फिर्ता हुनुपर्ने, सरकारले सिचाईको व्यवस्था गर्नुपर्ने वा सिचाईको लागि विद्युत निशुल्क गर्नुपर्ने, किसानका लागि समयमा मल, बिउ र खादको व्यवस्था गर्नुपर्ने माग जनमतले गरेको छ ।
त्यसैगरी, हावा हुरी र वर्षाका कारण क्षति भएका वालीनाली वापत किसानको लागी राहत शीघ्र उपलब्ध गराउनुपर्ने, किसानहरुको बालीनालीको उचित बजार मुल्य कायम गर्नुपर्ने र स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानवीन गरी दोषीलाई जेल चलान गर्नुपर्ने माग राखेको हो ।
तपाईको प्रतिक्रिया