लोसपा अध्यक्ष ठाकुरले निर्णय पुनरावलोकन नगर्ने, असन्तुष्टहरु विद्रोहको तयारीमा

समाचार

काठमाडौं, १४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष मनोनयनको विषयमा गरिएको निर्णय पुनरावलोकन नहुने अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । असन्तुष्ट नेताहरुलाई अध्यक्ष महन्थ ठाकुरले बुधबार आफ्नै निवासमा बोलाएका थिए ।

अध्यक्ष ठाकुरले प्रदेश र जिल्ला अध्यक्ष मनोनयनबारे पुनरावलोकन नहुने बताएपछि आफूहरु विद्रोह गर्ने लोसपा नेता तथा हिन्दी भाषा अभियानी रमन पाण्डेयले मधेशवाणीलाई बताए ।

नेता पाण्डेयले मधेशवाणीलाई भने, ‘अध्यक्ष ठाकुरले निर्णय पुनरावलोकन नहुने बताउनुभएको छ । तर हामीलाई निर्णय मान्य छैन । हामी पार्टीभित्र विद्रोह गर्छौं ।’

पार्टी भनेको लोकतान्त्रिक विधि र प्रक्रियाबाट चल्नुपर्ने बताउँदै नेता पाण्डेयले भने, ‘पार्टीको नाम लोकतान्त्रिक राखेर हुँदैन, सो प्रकारको विधि र पद्धति पनि अपनाउनुपर्छ ।’

मधेशको राजनीतिमा आफ्नो जीवन समर्पण गरिसकेको बताउँदै नेता पाण्डेयले भने, ‘हामी पार्टी बनाउनका लागि दिनरात लागेका छौं तर अध्यक्षको यस्तो निर्णयले हामी अत्यन्त मर्माहत भएका छौं ।’

असन्तुष्टहरुले प्रदेश र जिल्ला अध्यक्षको मनोनयनलाई सच्याउन माग गरेका थिए ।

लोसपाको प्रदेश अध्यक्ष र जिल्लाहरु मनोनयनप्रति असन्तुष्टि जनाउँदै जिल्ला–जिल्लाबाट नेताहरु काठमाडौं आएर केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।

लोसपा केन्द्रीय नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयको नेतृत्वमा रामजी राय, धीरेन्द्र सिंह, संजय सिंह, सतिश लाललगायतको टोली अध्यक्ष ठाकुरको निवासमै भेट्न पुगेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ