रुपन्देही, १५ पुस । सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् ।
उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् ।
सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य हुने उखु उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
चिनी मिल तथा भेली क्रसर उद्योगहरूमा किसानले उखु क्रसिङका लागि लैजान थालेको एक महिना बित्दा पनि सरकारले मूल्य निर्धारणमा चासो नदिएको यादवको भनाइ छ ।
अहिले किसानहरूले प्रति क्विन्टल ४०० रुपैयाँमा उखु बिक्री गरिरहेका छन् । सरकारले मूल्य नतोक्दा यसको फाइदा चिनी मिल तथा भेली क्रसर उद्योगहरूले लिइरहेका छन् । किसानहरुले प्रति क्विन्टल ६२५ रुपैयाँ मूल्य तोक्न सरकारसँग माग गरेका छन् ।
सरकारले गतवर्ष उखुको मूल्य प्रति क्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो । लागतको मूल्यांकनका आधारमा मात्रै मूल्य निर्धारण गरिनुपर्ने किसानहरुको माग छ ।
नवलपरासीमा १० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । यहाँ कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ ।
अध्यक्ष तर, अहिले भने क्षेत्रफल घटेर साढे पाँच हजारमा खुम्चिएको छ । ३२ लाख क्विन्टल उखु उत्पादन हुने जिल्लामा अहिले घटेर १० लाख क्वीन्टलमा झरेको छ ।
तपाईको प्रतिक्रिया