चिसोबाट जोगाउन प्रदेश २ सरकारले सुरु गर्‍यो तयारी

समाचार

जनकपुरधाम, १५ पुस । अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।  

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।‘

यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ । 

शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए । विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ । 

बर्षेनी चिसोबाट प्रदेश २ मा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।

‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्,’ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, ‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।‘

पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश २ मा ७४ जनाको मृत्यु भइसकेको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेश २ मा १० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ