महोत्तरी, १५ पुस । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।
‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने ।
अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन । बर्दिबासमा १५२ घरधुरी बसोबास गर्दै आएका छन् ।
पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ । तर विद्यालयमा समेत नियमित उपस्थित हुन नसक्ने मुसहर समुदायका बालबालिकाहरू मोडर्ना खोप लिनबाट वञ्चित बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
अहिलेसम्म जिल्लाको १५ वटै स्थानिय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । तर मुसहर बस्तीका मुसहरहरूले खोप लगाउन पाएका छैनन् । मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ ।
बर्दिबास नगरपालिकाले एक वडा एक स्वास्थ्यकर्मी परिचालन गरेको छ । सर्वसाधारणहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया