जनकपुरधाम, १५ पुस । धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको राष्ट्रिय प्रसारण प्रणालीमा अपी पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ ।
आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाइएको छ ।
कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सञ्चालनमा आएको सौर्य विद्युत आयोजना गरिएको हो ।
सौर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएपछि धनुषाको विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा सहज ढंगले दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने अपी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया