‘ढकियामे नागरिकता’ माघ १ गते प्रदर्शन हुने

समाचार

काठमाडौं, १६ पुस । जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित नाटक ‘ढकियामे नागरिकता’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।

युवा निर्देशक सरिता शाहको लेखन÷निर्देशन रहेको सो नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजेदेखि शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । 

नाटकका माध्यमबाट विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता नपाएका कारण राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित हुन पुगेको, भूमि नभएका कारण नागरिकता नपाएका जस्ता समस्यालाई उजागर गरिएको निर्देशक शाहले जानकारी दिइन् ।

नाटकमा राज्य सत्तामा रहेका व्यक्तिले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुन कार्यान्वयन नगर्ने, अदालतको आदेश प्रमुख जिल्ला अधिकारीले नमान्नेजस्ता समस्या देखाइएका छन् ।

नागरिकताको सवाल सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई नाटकमा जोडदाररुपमा प्रस्तुत गर्नाका साथै कतै न कतै प्रशासनको दोषलाई पनि देखाइएको छ ।

नाटकमा कलाकार सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पङ्गेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदिपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज शाहको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ