खोप कार्यक्रमलाई युद्धस्तरमा अघि बढाउन मुख्यमन्त्री राउतको निर्देशन 

समाचार

महोत्तरी, १८ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् । 

कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको बर्दिवासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।

पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिनु पर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न प्रदेशभित्र युद्धस्तरमा खोप कार्यक्रम संचालन गर्नु पर्नेमा उनले जोड दिए । 

कोभिड १९ को महामारीलाई नियन्त्रणमा लिन प्रदेशमा स्वास्थ्यकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खोप अभियान पनि सफल हुने विश्वास व्यक्त गरे । 

प्रदेशमा खोप पर्याप्त मात्रामा रहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले फागुन मसान्त भित्रै सत प्रतिशतलाई खोप लगाउने योजनासहित अघि बढ्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । 

उनले भने, ‘हामीसँग खोपको आभाव छैन, स्थानीय संचारमाध्यमहरुबाट प्रचार प्रसारलाई तीव्रता दिनुस् । जनशक्तिको आभाव भए खोपलाई लक्षित गर्दै जनशक्ति भर्ना गरौं ।’

सर्वसाधारणको भिडभाड हुने स्थानहरुमा अतिरिक्त खोप केन्द्र संचालन गर्न समेत उनले निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमका सहभागीहरुले समयमा खोप र सिरिन्ज प्राप्त नभएका कारण लक्ष्यभन्दा पछाडी परेको उल्लेख गर्दै अब खोप लगायतका साम्रीहरु पर्याप्त रहेकाले लक्ष्य पुरा हुने विश्वास दिलाएका थिए । 

कार्यक्रममा समाजिक विकासमन्त्री नवल किशोर साह, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, संघीय स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिवहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु , संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रदेशमा खोप कार्यक्रमको अवस्था बारे प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा तथा संघीय खोप समन्वय शाखाका सागर दहालले प्रस्तुति गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ