रौतहट, १९ पुस । सरकारले किसान आन्दोलनमा दमनकारी रवैया देखाएको भन्दै जनमत पार्टीले रौतहट जिल्लामा अनिश्चितकालीन बन्द तथा पूर्णरुपमा चक्काजामको घोषणा गरेको छ ।
जनमत पार्टी रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार एक विज्ञप्ति जारी आज सोमबारदेखि अनिश्चितकालीन रौतहट बन्द तथा पूर्णरुपमा चक्काजामको घोषणा गरेका छन् ।
किसानहरूको जायज र अति आवश्यक मागहरु पूरा नभएसम्म आन्दोलनमा रौतहटवासी जनसमुदायद्वारा साथ र सहयोग प्राप्त हुने अपेक्षासहित आन्दोलनबाट पर्ने असर र असुविधाप्रति सरकार स्वयं जिम्मेबार रहेको विज्ञप्तिमा भनिएको छ ।
सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन अहिले मधेशव्यापीरुपमा जनमत पार्टीको नेतृत्वमा भइरहेको छ ।
किसानका वर्षौंदेखि यथावत् रहेको समस्याहरुलाई लिएर जनमत पार्टीले चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ ।
किसानको आन्दोलनमा प्रहरी प्रशासनले बल प्रयोग गर्ने, हवाई फायर गर्ने, आश्रु ग्यास प्रहार गर्ने, लाठीचार्ज गर्ने लगायतका दमनकारी नीति अपनाएको देखिन्छ । शान्तिपूर्ण आन्दोलनलाई हिंसक बनाउन खोजिएको आरोप आमकिसानहरुको छ ।
तपाईको प्रतिक्रिया