जनकपुरधाम, २४ पुस । लामो समयदेखि घुम्टोमा रहेको रेलको शनिबार परीक्षण गरिएको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गरिएको हो ।
धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको रेल परीक्षणका लागि गुडाइएको छ । २०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ ।
लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण जनाइएको छ । इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।
जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।
नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।
एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।
एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।
तपाईको प्रतिक्रिया