सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, २५ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिकालाई महत्वपूर्ण बताएका छन् ।

भारतीय महावाणिज्य दूतावास वीरगंजले विश्व हिन्दी दिवसको अवसर पारेर आइतबार जनकपुरधाममा आयोजना गरेको ‘नेपाल और भारत के सांस्कृतिक सम्बन्ध मे हिन्दी का योगदान’ विषयक गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बोल्न र बुझ्नमा सहज भएकोले दुवै मुलुकका नागरिकबीच सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण रहेको बताए । 

डा. आशा सिन्हाको अध्यक्षतामा भएको गोष्ठीमा पूर्व–पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको उनले थपे । 

नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले नछेक्ने तर्क गर्दै उनले सदियौं पूरानो सम्बन्ध स्थापित गर्न पनि हिन्दी भाषाको योगदान महत्वपूर्ण रहेको बताए । 

मुख्यमन्त्री राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नका लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया चाँडै अघि बढाउने जानकारी दिए । भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको छ, उनले भने–यसको लागि आवश्यक ऐन कानुन र बजेट चाँडै व्यवस्थापन गर्छु ।

गोष्ठीमा कविता वाचन गरेका कविहरुको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले विद्वानहरुले वडो कलात्मक र सुन्दर तरिकाले समसमायिक विषयवस्तु थोरै शब्दमा पस्केकोमा धन्यवाद समेत ज्ञापन गरे । 

सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले हिन्दी भाषा नेपाल र भारत बीचको सम्बन्धलाई स्थापित गर्ने सेतुको काम गरेको बताए । 

गोष्ठीमा महावाणिज्यदूत नितेश कुमारले प्रत्येक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाउँदै आएको जानकारी दिदै सन् २००६ देखि नियमित रुपमा सो दिवस मनाउँदै आएको बताए । 

जनकपुरसहित वीरगंज र कलैयामा पनि विश्व हिन्दी दिवस मनाउने तयारी रहेको उनले बताए । 

विश्वका ५० करोड भन्दा बढी नागरिक अहिले हिन्दी भाषाको प्रयोग गरेको जानकारी उनले दिए । 

सो अवसरमा जनकपुरधामका साहित्यकारहरुले हिन्दी भाषामा कविता वाचन समेत गरेका थिए । गोष्ठीमा कविता वाचन गरेका साहित्यकारहरुलाई मुख्यमन्त्री राउतले दोसल्लो ओढाएर सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ