जनकपुरधाम, ३० पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोभिड १९को सम्भावित तेस्रो लहरको लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
कोभिड १९को ओमिक्रोन भेरियन्टसँग लड्न प्रदेशस्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने तयारीबारे छलफल गर्न मुख्यमन्त्री निवास मधेश भवनमा बिहीबार सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढ्दैको गएको ओमिक्रोन भेरिएन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लड्न तयारी अवस्था रहनु बाहेकको विकल्प आफूहरुसँग नरहेको बताए ।
बैठकका सहभागीहरुले प्रदेशभरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ सँग लड्न आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा आगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीहरुबारे ब्रिफिङ्ग गरेका थिए ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्यसँग सम्बन्धित निकायहरुका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया