प्रदेश २ अब मधेश प्रदेश

समाचार

जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएको छ ।  सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए । जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो । 
यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो । 
प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो । 
प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ताव गरेको थियो । जसमा ‘मधेस’ नाममा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहमत थिए ।
उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्ने पक्षमा थिए भने नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भन्दै आएको थियो । 
तर गोप्य मतदानमा भने दुई तिहाई बढीले मतदान गरेपछि प्रदेश २ को नाम मधेश प्रदेश पास भएको हो । सभामुख सरोजकुमार यादवले मधेश नाममै दुई तिहाइ मत परेपछि नामांकन सम्बन्धी अरु प्रस्ताव स्वतः निष्क्रिय भएको बताए । 
मुलुकका ७ प्रदेशमध्ये अब प्रदेश नम्बर १ ले आफ्नो नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ