सप्तरी, ५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन् ।
मधेश आन्दोलनको प्रथम शहीद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहीद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहीदहरुले देखेको मधेश प्रदेशको सपना एक हदसम्म पूरा भएको बताएका हुन् ।
मधेश प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सदस्यहरुप्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुको सपना पूरा गराउन आगामी दिन समेत एकबद्ध रहने बिश्वास व्यक्त गरे ।
उनले मधेश आन्दोलनका शहीद परिवार तथा घाइते हरुको सम्मानमा मधेश सरकार कुनै कमी नराख्ने प्रतिबद्धता जनाए ।
शहीद परिवारमध्ये अधिकांशलाई मधेश सरकारले जागिर उपलब्ध गराइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अबको दिनमा मधेश सरकार शहीद परिवार तथा अशक्त घाइतेहरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी गराए ।
मधेश सरकार मधेश आन्दोलनको भावना अनुरुप अघि बढ्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समाबेशी समानुपातिक ब्यबस्था त्यसकै उपज रहेको बताए ।
कार्यक्रममा मधेश आन्दोलनका ५९ जना शहीद परिवारलाई जनही तीन लाख तथा ८८ जना घाइतेहरुलाई अवस्था हेरि २५ हजार देखि ३ लाखसम्मको चेक एवं सम्मान पत्रले सम्मानित गरिएको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेशी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, पदेशसभा सदस्य मनिष सुमनसहितको वक्ताहरुले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया