महोत्तरी, ६ माघ । शीतलहर र बाक्लो हुस्सुको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि महोत्तरीको गौशाला नगरपालिकाले अगामी माघ १५ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिएको छ ।
यसअघि माघ ४ गतेसम्मका लागि दिइएको जाडो बिदा बढाएर माघ १५ गतेसम्म कायम गरिएको हो ।
नगरपालिकाको कार्यालयले बिहीबार एक सूचना प्रकाशन गरी कोभिड–१९ को भयावह अवस्था र अत्याधिक बढेको चिसोपनले जनजीवन अस्तव्यस्त भएपछि सामुदायिक विद्यालयमा अगामी माघ १५ गतेसम्मको लागि बिदा मिलाइएको जनाएको छ ।
कोभिडको प्रकोप र शीतलहरको कारण स–साना बालबालिका विद्यालय जान असमर्थ रहेकाले नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए ।
यस अवधिमा भौतिक रुपमा पठनपाठन गर्ने अवस्था नरहेकोले बैकल्पिक माध्यमले पठनपाठन गराइने व्यवस्था मिलाउनका लागि नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यसअघि देशभरका सामुदायिक विद्यालय बन्द रहेको समयमा गौशाला नगरपालिकाले माघ ५ गतेदेखि विद्यालय पूर्ववत रुपमा सञ्चालनका लागि आग्रह गरेको थियो ।
तपाईको प्रतिक्रिया