वीरगन्ज, ६ माघ । पर्सा जिल्लामा कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने अभियान अन्यौलमा परेको छ ।
आइतबारदेखि देशैभर कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम सुरु गरिए पनि पर्सामा अन्योलमा परेको छ ।
पर्सामा पछिल्लो सातादेखि कोरोना संक्रमण दर ह्वात्तै बढ्दै गएको छ । तर, स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह विगत ४ दिनदेखि जनकपुर गएका छन् । जसका कारण ‘बुस्टर डोज’ कार्यक्रम सुरु हुन नसकेको हो ।
स्वास्थ्य मन्त्रालयले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउने कार्यक्रम सुरु गरेको भएपनि कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा भने बुस्टर डोज खोप कार्यक्रम कहिलेदेखि सुरु गर्ने भन्ने विषय नै अन्यौलमा रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्यकर्मीले बताए ।
स्वास्थ्य कार्यालय पर्साले बुस्टर डोज खोप कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म कुनै सुरसार नभएको जनाएको छ ।
पर्सामा खोप लगाउन योग्य जनसंख्या ४ लाख ७५ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ती मध्ये हालसम्म पूर्ण डोज खोप ४३ प्रतिशत अर्थात् २ लाख ३ हजार ५ सय २२ जनाले लगाएका छन् भने एक मात्र डोज लगाउनेको संख्या ५५ प्रतिशत अर्थात् २ लाख ५५ हजार ३१ जना रहेको छ ।
तपाईको प्रतिक्रिया