काठमाडौं, ६ माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै मधेश प्रदेश का भारतीय सीमानाकामा कडाइ गरिएको छ ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरेका हुन् ।
प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख गणेश ठाडामगरले जानकारी दिए ।
अहिले प्रहरी कै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजिकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालन भैइरहेको छ । मधेश प्रदेशको बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।
ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ ।
डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन ।
सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका मधेश प्रदेश मै छन् । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमीटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीवाट नेपाल–भारत आवतजावत हुन्छ ।
तपाईको प्रतिक्रिया