काठमाडौं, १० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आफूले दिएको अभिव्यक्तिबारे भ्रम फैलाइएको गुनासो गरेकी छन् ।
मन्त्री यादवले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरी भ्रम फैलाउन खोजिएकोप्रति ध्यानाकर्षण भएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’
‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु ।’ मन्त्री यादवले विज्ञप्तिमा भनेकी छन् ।
साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन मन्त्री यादवले आग्रह पनि गरेकी छन् । उनले भनेकी छन्, ‘मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछ । अगामी दिनमा यसप्रति सचेत रहनेछ ।’

तपाईको प्रतिक्रिया