मधेशमा किन बढ्यो जनसंख्या ?

मधेश श्रोतसाधन र सम्भावनामा धनी भएकैले पहाड र हिमाललाई पालिरहेको छ

समाचार

काठमाडौं, १४ माघ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा प्रकाशन गरेको छ । नतिजाअनुसार हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तर मधेको जनसंख्या ५०.२७ प्रतिशतबाट बढेर ५३.६६ प्रतिशत पुगेको छ ।

१० वर्ष पहिले अर्थात् २०६८ सालमा हिमाली भेकमा १७ लाख ८१ हजार ७९२ जना (६.७३ प्रतिशत) मानिस बस्थे । अहिलेको जनगणना अनुसार हिमाली भेकमा १७ लाख ७८ हजार १०४ जना (६.०९ प्रतिशत) मात्र बसोबास गर्दछन् । अर्थात १० वर्षमा हिमाली भेगमा ३६८८ जनसंख्या घटेको छ ।

पहाडमा १० वर्ष अगाडि कुल जनसंख्याको ४३.०१ प्रतिशत मानिसहरू बसोबास गर्दै आएका थिए । अहिले पहाडमा ४०.२५ प्रतिशत जनसंख्या मात्रै बसोबास गरिरहेको जनगणनाले देखाएको छ । करिब ३ प्रतिशत जनसंख्या पहाडबाट मधेशमा बसाइँ झरेको छ । कुल जनसंख्याको प्रतिशतमा ३ प्रतिशत कम देखिए पनि संख्याको हिसाबले पहाडी जिल्लाहरूमा केही संख्या बढेकै देखिन्छ ।

१० वर्षअघि पहाडको जनसंख्या १ करोड १३ लाख ९४ हजार ७ थियो । अहिले १ करोड १६ लाख ४८ हजार ५४८ जना मानिसहरू पहाडी जिल्लामा बसोबास गरेको देखिन्छ । अर्थात् १० वर्षको अवधिमा पहाडमा करिब अढाइ लाख, अर्थात २ लाख ५४ हजार ५४१ जना मानिसहरू थपिएका छन् ।

मधेशको चापमा वृद्धि

मधेशको हकमा कुरा गर्ने हो भने जनसंख्याको चाप विगतमा भन्दा झनै बढेको छ । सुविधा खोज्दै अधिकांश मानिसहरू मधेशमा बसाई सर्ने क्रमले गर्दा यहाँको जनसंख्या बढेको सहजै अनुमान गर्न सकिन्छ । २०६८ सालमा मधेशमा १ करोड ३३ लाख १८ हजार ७०५ जना मानिसहरूको बसोबास थियो ।

अहिले यो संख्या बढेर १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ । अर्थात, १० वर्षमा मधेशमा २३ लाख ४७ हजार १२३ जनसंख्या थपिएको छ । यो भनेको मधेशमा वार्षिक लगभग १ लाख ९५ हजार मानिसहरू थपिनु हो ।

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा मधेशको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा मधेशमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५प्रतिशतमा झरेको छ ।

प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैङ्गिक रूपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।

प्रदेशगत रूपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।

किन बढ्यो जनसंख्या

पहाड र हिमाल क्षेत्रमा बस्ने जनताको नजरमा मधेश सुगम क्षेत्र मानिन्छ । मधेशका समथर जिल्लाहरू उब्जाउ जमीन भएकाले राष्ट्रको अन्नको भण्डार मानिन्छ । नेपालको अर्थतन्त्रमा कृषिको योगदान ५ भागमा २ भाग हुन्छ । त्यो मधेशकै योगदानले हो । त्यसैले कृषि उत्पादनको अभिबृद्धिका लागि नै भनेर विगतका सुरूका १० वटा पञ्चवर्षीय योजनाहरूको लगानीमा निरन्तर मधेशका २४ जिल्लाले प्राथमिकता पाएको हो । बागमती, नारायणी, कोशी, गण्डकी, भैरहवा लुम्बिनी, वाणगंगा, बबई, महाकालीजस्ता सिंचाई आयोजनाहरू मधेशमै बने ।

मधेशभित्रै एक हजार किमी लामो महेन्द्र राजमार्गलगायत सबै जिल्ला सदरमुकामहरू जोड्ने महत्वपूर्ण पीच सडकहरू छन् । काठमाडौं छाडेर, विराटनगर, वीरगञ्ज, गैडाकोट, बुटवल, नेपालगञ्जमा स्थापित हजारौं उद्योगहरू त्यही छन् । क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्लास्तरका दर्जनौं अस्पतालहरू, हजारौं विद्यालय, पचासौं क्याम्पसहरू, बैंकहरू, विद्युत प्रशारण लाइन, टेलिफोन, सेलफोन, बस, ट्रक, रिक्सा, साइकल, एक्का, मोटरसाइकल, जीप, टिभी प्रशारण सुबिधा, एफएम रेडियो, पत्रिका, अखबार, इमेल, इन्टरनेटजस्ता पूर्वाधार वा अन्य भौतिक सेवासुबिधा उपलब्ध हुनाले स्थानीय रोजगारीको पहुँच एवं अवसर त्यही घनिभूत छन् ।

भारतीय सीमासँगको सामीप्य र भौतिक पूर्वाधारले जोडिएका कारणबाट सस्तोमा, शिक्षा, स्वास्थ्य एवं दैनिक उपभोगका वस्तुहरूको उपभोग गर्न पाउनुका अतिरिक्त कृषिसाधन तथा उत्पादनका लागि बजार पाउने सौभाग्य दशकौंदेखि मधेशबासीले पाएका छन् । मधेशका प्रायः सबै गाउँहरूमा कच्ची नै भएपनि सडक सञ्जालले जोडिएका छन् । बस, ट्रक, गाडा, मोटरसाइकल, साइकल, ट्रेक्टरजस्ता आम सवारीसाधन निरन्तर चलिरहेका हुन्छन् । सुबिस्ता र सुगमताले पहाड र हिमालबाट मधेशका अत्याधिक बसाइँसराइ भएको छ ।

देशको भूमिमध्ये पहाड, हिमालले ७७ प्रतिशत र समथर मधेशले करिब २३ प्रतिशत ओगट्छ । देशको कूल क्षेत्रफलको करिब १७ प्रतिशत जमीन खेतियोग्य छ । यसमा सिंचाई गर्न सम्भव हुनेखालका कूल १७ लाख हेक्टर जमीन पनि पर्छ । यसमध्ये ३ लाख हेक्टर (१३ प्रतिशत) सिंचाईयोग्य भूमागमात्र हिमालपहाडमा छ । यही १३ प्रतिशत जमीनको उत्पादनबाट ५१ पहाडी जिल्लाका ५२ प्रतिशत बासिन्दालाई मुस्किलले आधा वर्ष खान पुग्छ । सरकारद्वारा निर्मित सिंचाई आयोजनाबाट पु¥याइने सिंचाई सुविधामध्ये १० प्रतिशतमात्र पहाडका भूमि सिञ्चित हुन्छन्, बाँकी मधेशमा हो ।

आर्थिक प्रगतिको सबैभन्दा ठूलो आधारभूत मेरूदण्ड सडक हो । यद्यपीले नेपालमै सडकको पूर्ण विकास अहिलेसम्म भइसकेको छैन । पहाडी जिल्लामा ९५ प्रतिशत सडक कच्ची छन् । तिनमा सदरमुकामसम्म हिउँदका छ–सात महिनामात्र मुस्किलले गाडी चल्छन् । मुलुकभरि ग्रामीण सडकमध्ये ७० प्रतिशत मधेशमा छन् । कालोपत्रे सडकमध्ये ७० प्रतिशत मधेशभित्र बनेका छन् । नेपालमा दर्ता भएका सवारीसाधनमध्ये ५ प्रतिशत पहाडहिमालमा र ३० प्रतिशत मधेशमा गुड्छन् ।

तर, उता पहाडमा भने जोखिमपूर्व कठिन सडकको यात्राबाट आवश्यक वस्तु आयात गर्न बाध्य हुँदा चर्को मूल्य तिरी उपभोग्य वस्तु खरिद गर्नुपर्छ । कुनै उल्लेखनीय त्यस्ता ठूला सिंचाई वा अन्य विकास आयोजना वा उद्योगधन्दा त्यहा स्थापित छैनन् । रोजगारी सिर्जना हुने ठोस आधारतन्त्र विद्यमान छैन ।

दुर्गम पहाड हिमालका जनताको जनजीविका पनि त्यतिकै कष्टसाध्य छ । उकालो ओरालो गर्दै व्यापार गर्नुपर्छ ।स्थानीयस्तरमा स्वास्थ्य सुबिधाको अभावमा बिरामी परियो भने हप्तौं हिँडेरै टाढा शहर पुगी खर्चिलो उपचार गराउनु पर्छ ।

प्राकृतिक एवं राजकीय श्रोतसाधन लगानीको दृष्टिले सुविधासम्पन्न भएकै कारणले हिमाल र पहाडका जनता मधेशतिर झरेका हुन । फलतः मधेशको जनसंख्या बढेको हो तर पनि मधेशको गरिबीको सूचक पहाडको भन्दा नराम्रो छ । यसको मूल कारकतत्व थिचोमिचोयुक्त मधेशको सामाजिक सांस्कृतिक आर्थिक वातावरण नै हो ।

मधेश श्रोतसाधन र सम्भावनामा अतुलनीय धनी छ । यसैले मधेशले पहाड र हिमाललाई पालिरहेको छ । हिमाल र पहाडले तराई पाल्ने दिन आउन अझै कैयन दशक लाग्न सक्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ