वीरगञ्जका होटललाई ५० प्रतिशत कर छुट

समाचार

पर्सा, १४ माघ । वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ ।

कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो ।

कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए ।

एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

महानगरपालिकालाई आग्रह र दबाब दिँदा आइतबार महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगी कर छुट दिन प्रतिवद्ध भएको उनले बताए । आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को व्यवसाय करमा ५० प्रतिशत छुट दिने सरावगीले बताए। सम्पति करमा पनि जरिवाना नलिई ५० प्रतिशत छुट दिने उनको भनाइ छ ।

तर आगामी चैत मसान्तभित्र ती व्यवसायीहरूले आफूले बुझाउनु पर्ने कर बुझाइसक्नु पर्ने उनको भनाइ छ । चैतपछि भने महानगरले कर छुट दिन नसक्ने महानगरप्रमुख सरावगीले तर्क गरे ।

प्रस्तावित नीतिमा कर छुट दिन सकारात्मक हुँदा पनि राजश्व नीतिमा होटल तथा व्यवसाय क्षेत्र केही कर्मचारीको कारण छुटेको उनको भनाइ छ ।

सम्पति र व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै आइतबार वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले सकारात्मक भएका हुन् ।

महानगरले आफ्नो प्रस्तावित राजश्व नीतिमा होटल तथा पर्यटन व्यवसायीलाई कर छुट दिने भनी सुरुमा उल्लेख गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ