काठमाडौं, १६ माघ । निर्वाचन अगावै स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न माग हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले माग गरेको छ ।
जप्रपाका हृदयेश त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी यस्तो माग गरेका हुन् ।
त्रिपाठीले सत्तापक्षीय गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेष्ठसम्म सम्पन्न गराउने प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् ।
त्रिपाठीले भनेका छन्, ‘संवैधानिक र कानूनी अस्पष्टता अनगिनत संख्यामा रहेको तथ्य प्रति पुनः ध्यानाकर्षण गराउन चाहन्छु । किस्ताबन्दीमा तत्कालिनरुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिँदैन । अपितु पन्छ्याउने कार्य मात्र गर्दछ । यस प्रकारको शुतुरमुर्गे प्रबृत्ति कुनै समयमा घातक सावित हुन सक्ने प्रति सचेत गराउन चाहन्छु ।’
स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिश तत्कालीन प्रदेश नं. २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भएको हो ।
प्रदेश नं. १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश नं. १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न त्रिपाठीले माग गरेका छन् ।
‘अन्यथा निर्वाचन जस्तो कार्यमा बाधासमेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने तथ्य प्रति सचेत गराउन चाहन्छु ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया