काठमाडौं, १७ माघ । निजामती कर्मचारीहरुको राष्ट्रियस्तरको टेड्र युनियन ‘नेपाल मधेशी निजामती कर्मचारी मञ्च’ले आफ्नो १५औं स्थापना दिवस मनाएको छ ।
सोमबार संघीय राजधानी काठमाडौंको बबरमहलस्थित मञ्चको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मञ्च आवद्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा स्थापना दिवसको उपलक्ष्यमा शुभकामना साटासाट गरिएको थियो ।
विगतका अधिकारमुखी आन्दोलन एवं २०६३ सालको महान मधेश आन्दोलनको जगमा स्थापित यस ट्रेड युनियनले हालसम्म ३ वटा विधिवत महाधिवेशनहरु सम्पन्न गरिसकेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रमका अध्यक्ष एवं मञ्चका केन्द्रीय अध्यक्ष भुवेश्वर चौधरीले निजामती सेवामा रहेका अल्पसंख्यक मधेशी, थारु, महिला, मुस्लिम लगायतका राज्यको विभेदकारी षड्यन्त्रका कारण समाजमा पछाडि पारिएका वर्गहरुवाट प्रतिनिधित्व गर्ने समग्र निजामती कर्मचारीहरुको साझा ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरुको पेशागत पहिचान, संरक्षण, वृतिविकास तथा समग्र समृद्धिका लागि गर्ने गरेको पहलकदमी तथा कृयाकलापहरुको बारेमा प्रकाश पारेका थिए ।
शुभकामना तथा अन्तरकृया कार्यक्रममा अध्यक्ष चौधरीले मधेशी वर्गको हक अधिकार तथा पहिचानका लागि नीतिहरु निर्माण भएको÷हुँदै गरेको भएता पनि शाषक वर्गको व्यवहारीक कपटीपुर्ण व्यवहार र नियतले आफुहरुलाई सदैव सशंकित तुल्याउने गरेको बताएका छन् ।
समग्र निजामती प्रशासनमा करिब ८ प्रतिशतको हाराहारीमा मात्र रहेको मधेशी कर्मचारीहरुका लागि सामूहिक सौदाबाजीका लागि प्रदान गरिएको ट्रेड युनियन अधिकार नै खोस्ने गरी राज्यले अबलम्वन गरेको कपटी थ्रेस होल्डको मापदण्ड आफैमा विभेदकारी र मधेशी विरोधी रहेको जिकिर गरेका छन् ।
आधिकारिक ट्रेड युनियनमा राष्ट्रियस्तरको ट्रेड युनियनको सहभागिताका लागि आधिकारीक ट्रेड युनियनको निर्वाचनमा १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान आफैमा अवैज्ञानिक र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तविपरीत रहेको यथार्थ अधिकाँश वक्ताहरुले कार्यक्रममा सुझाएका थिए ।
अध्यक्ष चौधरीले आउँदो आधिकारिक ट्रेड युनियनको निर्वाचन थ्रेस होल्ड घटाएर ५ प्रतिशत कायम गर्नु पर्ने माग आफूहरुले सरकारलाई ध्यानाकर्षण गराएको र हुनेमा विश्वास व्यक्त गरेका छन् ।
यसअघि स्थापना दिवसको अवसर पारी मञ्चको पूर्ण बैठकसमेत आयोजना गरिएकोमा वर्तमानको कोरोना महामारीका कारण हाललाई स्थगित गरिएको र शुभकामना कार्यक्रम पनि स्वास्थ्य मापदण्डको पालना गर्दै मनाइएको जानकारी मञ्चका महासचिव बेचन कुमार महतोले दिएका छन् ।
महासचिव महतोले १५औं स्थापना दिवसको उपलक्ष्यमा सम्बन्धित सबैमा शुभकामनासमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया