जनकपुरधाम, १७ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बन्द रहेको छोरी बीमा कार्यक्रम फेरि केही दिनभित्रै शुरु हुने बताएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बीमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए ।
कर्मचारीको असहयोगका कारण पनि सुरुमा साढे ८ हजार छोरीको बीमा गरिएको जनाउँदै उनले अढाई वर्षदेखि हुन नसकेको बिमा कार्यक्रम केही दिनभित्रै पुनःसञ्चालनमा ल्याइने बताए ।
मुख्यमन्त्री राउतले कक्षा ११ र १२ मा पढ्ने छोरीलाई ल्यापटप वितरण गरिने पनि बताए । एक जिल्लाका १ हजार छोरीलाई ल्यापटप बितरण गरिने भन्दै उनले यसले छोरीलाई संसारसँग जोड्ने काम हुने बताए ।
महिलाका लागि आरक्षण सिट राखेर मात्रै नहुने भन्दै उनले लोकसेवा भिडनका लागि तयार गर्नुपर्ने समेत बताए । यसका निम्ति प्रदेशका आठै जिल्लामा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन गरिने उनले बताए ।
उनले गाउँघरमा १० बिघा जग्गा हुनेले पनि छोरीलाई साइकल दिन नचाहेको बताउँदै छोरीको आत्मविश्वास बढाउनकै लागि प्रदेश सरकारले साइकल वितरण गरेको बताए ।
तपाईको प्रतिक्रिया