काठमाडौं, १८ माघ । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि नेपाल र भारतबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ ।
यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।
उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ ।
तपाईको प्रतिक्रिया