काठमाडौं, २१ माघ । छिमेकी मित्रराष्ट्र चीनले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण सीमा क्षेत्रका सर्वसाधारणदेखि व्यापारी तथा व्यवसायीहरू मारमा परेका छन् ।
कोरोना महामारीको कारण देखाउँदै चीनले नाकामा आयात–निर्यातमा अप्ठ्यारो भइरहेको छ । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार पूर्ण रूपमा बन्द छ ।
२०७२ सालको भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ ।
नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ ।
चीनको अघोषित नाकाबन्दीले व्यापारीहरू उत्तरी नाकाको विश्वास गर्न छाडेका छन् । उत्तरी नाकाको विश्वास गुम्दै गएपछि व्यवसायीहरू आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेका छन् ।
चीनकै कारण नेपालका निर्यात व्यापारी सबै पलायन भइरहेका छन् । व्यापारीहरूले नाका सहज बनाउन माग गर्दै ६–६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आए पनि त्यसका लागि कुनै पहल भएको छैन ।
निजी क्षेत्रले गर्ने अनुरोधलाई चीनले वास्ता गर्दैन । चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरूत्साहित गरेको देखिएको छ । उत्तरी नाकाबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया