सर्लाही, २६ माघ । सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ ।
२० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।
हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका कार्यालय छाडेर गएको एक महिना भइसक्दासमेत मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित भएपछि नगर कार्यपालिकाको बैठकले नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव नवराज निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले जानकारी दिए ।
करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बरहथवा नगरपालिकामा भने सोमबारबाट नयाँ प्रशासकीय अधिकृत हाजिर भएका छन् । नगरपालिकाकी उपप्रमुख सीतादेवी माझीले राजविराज नगरपालिका सप्तरीबाट उपसचिव मदन कुमार थापा सरुवा भएर बरहथवा आएको बताइन् ।
पुस पहिलो सातादेखि डा. राधेश्याम रायले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । यसैगरी, जिल्लाको हरिपुर नगरपालिका पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ ।
सामाजिक विकास शाखाका अधिकृत विनय पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको छ । त्यसैगरी, चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिका लगायतका पालिकाहरु पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा छन् ।
अधिकांश स्थानीय तहमा जनप्रतिनिधिसँगको खटपटपछि प्रमुख प्रशासकीय अधिकृतहरू सरुवा गराएर जाने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार नहुने भएकाले स्थानीय तहहरुमा विकास निर्माणका काम प्रभावित हुन पुगेका छन् ।
तपाईको प्रतिक्रिया