जनकपुरधाम, माघ २८ । मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने भएको छ ।
आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो । आगामी फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी फागुन १ गते आइतबार सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा आइतबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा मन्त्री छन् ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया