रौतहटमा मौलापुर मधानी महोत्सव मनाइने

समाचार

रौतहट, २९ माघ । रौतहटको मौलापुरमा तेस्रो मधानी महोत्सव मनाइने भएको छ । महोत्सव फागुन १७ महाशिवरात्रीको दिन मनाउने तयारी मौलापुर नगरपालिकाले गरेको छ ।

मौलापुर नगर प्रमुख रिनाकुमारी साहले शनिबार पुरातात्विक महादेव मन्दिर परिसर पतौरामा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा चर्चित भोजपुरी नायक र गायक खेसारीलाल यादवको विशेष उपस्थितिमा मधानी महोत्सवलाई भव्य बनाउने तैयारी नगरपालिकाले गरेको जानकरी दिइन् ।

मधानी महोत्सवको आन्तरिक तथा प्राविधिक तयारी सुरु भइसकेको नगर प्रमुख साहले बताइन् । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा परेको मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर सिम्रौनगढमा स्थापित कर्नाट राज्यभन्दा पनि पुरानो रहेको अवशेषको अध्ययनले देखाएको छ ।

पुरातात्विक महादेव मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा हालै मन्दिरको अर्को संरचना पनि धरतीभित्र फेला परेको र पुरातत्व विभागले हालै उत्खनन गरेको छ । पतौराको पुरातात्विक महादेव मन्दिर र आसपासको क्षेत्रमा लिच्छवि कालकै अवशेष हुन सक्ने अनुमान गरिएको छ ।

पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसारको साथै पर्यटकीय गतिविधि बढाउनको लागि मौलापुर नगरपालिकाले २०७६ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भन्डारीको प्रमुख आतिथ्यमा मधानी महोत्सवको सुरुआत गरेको थियो ।

नेकपाका नेता प्रभु साहको अग्रसरतामा मधानी महायज्ञ हुने गरेको छ । मधानी महोत्सवको अवसरमा मौलापुर स्मार्ट सिटीको भूमिपूजन, अष्टयाम यज्ञ, शिवचर्चाका साथै नेपाली र भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

मधानी महायज्ञमा नेपाल र भारतका करिब एक सय साधुसन्तहरुको पनि सहभागिता रहने पूजारी साहको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ