मणि प्रसाद गैह्रे, कपिलवस्तु, ४ फागुन । जिल्ला सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरले कार्यालयको संयुक्त उदघाटन गरेका छन् ।
मन्त्री पुर्मती ढेगा मगरले सेवा कार्यालय सञ्चालनले कपिलवस्तु र अर्घाखाचीका नागरिकलाई सेवा प्रवाहमा सहजता आएकोे बताइन् ।
भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादवले सेवा कार्यालयलाई स्थाई रुपमा सञ्चालन गर्न तथा सेवा थप गर्न जग्गाको व्यवस्थापन हुन सके प्रदेश सरकारले जनशक्ति र पुर्वाधारमा लगानी गर्ने बताए ।
तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादीन कुर्मीले आफुहरुले विगतका बर्ष अघि देखि गरेको पहलले सफलता मिलेको बताए । कार्यालय सञ्चालनले सदरमुकाम क्षेत्रमा व्यवसाय प्रबद्र्धनलाई सहजता मिलेको उनले बताए ।
कार्यालयका काममा शुसासन कायम गरिनु पर्नेमा प्रजिअ चक्रपाणी पाण्डेले जोड दिए । जिल्लाको बिकास सबैको सरोकारको बिषय बन्नु पर्नेमा पुर्व प्रदेशमन्त्री एवम प्रदेशसभा साँसद धर्मबहादुरलाल श्रीवास्तवले जोड दिए ।
स्थापित कार्यालयलाई बिलबुक नविकरण, सवारी साधनको कर लिने, प्रमिट बितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरि पाँच किसिमका अधिकार तत्कालै दिईएको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताए ।
रुपन्देहीको बुटवल र भैरहवामाबाट सेवा लिदै आएका अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई लक्षित गरि तौलिहवामा सेवा कार्यालय बिस्तार गरिएपछि स्थानीयलाई सेवा लिन सहज हुने भएको छ ।
तपाईको प्रतिक्रिया