महोत्तरीका किसानलाई सुर्ती खेतीबाट फाइदा

समाचार

महोत्तरी, ५ फागुन । जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् ।

अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ । यो चुरोट बनाउने नभएर चुनामा मोलेर खाने सुर्तीको खेती हो ।

एक दशकअघिसम्म परम्परागत अन्न बाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेपछि किसानले वैकल्पिक खेतीका रुपमा सुर्तीलाई रोजेका हुन् । सुर्ती खेती गर्न लागेपछि घरको गुजारा चलाउन सहज हुनाका साथै नगद पनि सञ्चय गर्न थालिएको यहाँका किसानको भनाइ छ ।

कम सिँचाइमा पनि बढी उत्पादन लिन सकिने र भण्डारण एवम् प्याकिङको काम गर्न घरका परिवारले भ्याउने भएपछि सुर्ती खेतीलाई प्रमुख बालीको रुपमा स्थान दिइएको पडौलका राजकिशोर यादवले बताए । रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको उनको भनाइ छ ।

‘रोप्ने र गोड्ने बेलामा चाँही श्रमिक चाहिन्छ, त्यतिखेर भ्याइनभ्याई पर्छ,’ यादव भने, ‘यो खेतीमा सुकेका पात छिमल्ने, काट्ने, पात चुँड्ने, सुकाउने, सुकेका पात वर्गीकरण गर्ने र कल्ली बाँध्ने काम परिवारकै सदस्यहरुले गर्न भ्याउन्छन् , त्यसैले त्यो काम उतार्न त्यति सकस पर्दैन ।’

यादव, कोइरी, मुसलमान र पासवान जाति र समुदायको बसोबास भएको यी बस्तीमा सुर्ती खेतीबाट मनग्य आम्दानी हुन थालेपछि नानीहरुको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् ।

यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान र पासवानका परिवारले पनि अब छोराछोरी पढाउन थालेका धमौरा बस्तीका हासिम कवारीले बताए । अहिले यी बस्तीका विद्यालयमा मुसलमान, पासवान जाति र समुदायका नानीहरु उल्लेख्य सङ्ख्यामा पढ्न थालेका धमौरा बस्तीकै एक विद्यालयका पूर्वप्रधानाध्यापक सुशीलकुमार यादवको भनाइ छ ।

धमौरामा करिब ५० बिघाको हाराहारीको जग्गामा सुर्ती खेती हुने गरेको छ । त्यसैगरी नगरक्षेत्रका पडौल, तीलगढ, बदियाबन्चौरी, अधियानपुर, रौजा, बनौटा, भगवतीपुर र सरञ्चियासहित बस्तीमा बिघौबिघामा सुर्ती खेती लगाइएको देखिन्छ ।

प्रतिकट्ठा १२५ किलोसम्म उत्पादन हुने सुर्तीबाट राम्रो भाउ पाउँदा एक कट्ठाबाटै रु २५ हजारसम्म आम्दानी भएको धमौराकै वासुदेव पासवानले बताए । भाउ केही खस्कँदासमेत रु २० हजारभन्दा नघटेको सम्बद्ध किसानको भनाइ छ । बलवा नगर क्षेत्रमा करिब १५० बिघाको हाराहारीमा सुर्ती खेती भइरहेको अधियानपुरका अमानुल्ला शेषको भनाइ छ ।

खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारी घरमै आएर सुर्ती किन्न थालेका छन् । यसले बजार खोज्ने झञ्झट नभएको ती किसान बताउँछन् ।

पछिल्ला दुई वर्षयता भने कोरोनाको महामारीले भारतीय व्यापारीको चहलपहल घट्दा भाउ खस्केको किसानको गुनासो छ । पछिल्ला दिनमा यी बस्तीको देखासिकीबाट छिमेकका लोहारपट्टि, भङ्गाहा र मनराशिव नगरपालिकाका दर्जनौँ बस्तीमा सुर्ती खेती गर्ने किसान ह्वात्तै बढेका छन् । सुर्तीको खेती व्यापक बढ्दै गए पनि कृषि विभागबाट कुनै रायसल्लाह, प्राविधिक सहयोग, परामर्श र अन्य अवसर नपाएको किसानको गुनासो छ ।

यता जिल्ला सदरमुकाम जलेश्वरस्थित कृषि ज्ञान केन्द्रले भने किसानहरु बीउबिजन र अन्य कुनै परामर्श सहयोगका लागि आफ्नो कार्यालयमा सम्पर्कमा नआएका जनाएको छ । यद्यपि किसानले रोजेका खेतीमा अब स्थलगत अनुगमन गरेर के सहयोग दिन सकिन्छ ? त्यसका लागि ती क्षेत्रमा कृषि प्राविधिक खटाइएको उक्त केन्द्रले बताएको छ ।

पछिल्लो समयमा सुर्ती खेतीबाट आम्दानी बढे पनि आफ्नो उत्पादन भारतीय बजारमै आश्रित रहेको किसानको भनाइ छ । उत्पादनको मूल्यमा समेत आफूहरुको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको बनौटाका किसान जगतनारायण महतोको गुनासो छ ।

आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादित वस्तु लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा मुख्यतः भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ