उत्पीडित समुदायको एक मात्र हितैसी जसपा हो : मुख्यमन्त्री राउत

समाचार

रौतहट, ७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताएका छन् ।

रौतहटको गुजरा नगरपालिका नगर कमिटीले शनिबार गुजरा ६ मा आयोजना गरेको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सदियौंदेखि शासकवर्गबाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितका लागि लड्ने एक मात्र पार्टी जसपा रहेको दावी गरे ।

मधेश विद्रोहअघि शोषित रहेको समुदाय तत्कालिन मधेशी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण समान सहभागिता पाउन थालेको बताए ।

पुस्तौंदेखि ठूला पार्टीका नेता कहलाउनेहरु समेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफ्नै पार्टीमा स्थान पाइरहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागू नभएको भए हाल उहाँहरुको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया लागि रहेको छ ।’

अन्य दलहरु आश्वान दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको प्रदेश २ को सरकार व्यवहारमा उतारेर देखाएको दावी गर्दै मुख्यमन्त्री राउतले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित, महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मूलधारमा ल्याउन गरेका प्रयासहरु ठोस उदाहरण रहेको उल्लेख गरे ।

कार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं राज्यसभा सदस्य मो. खालिद सिद्दिकी, केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राम किशोर यादव, केन्द्रिय सदस्य एवं भूमि व्यवसथा कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेश सभा सदस्य अब्बुुल कलाम अजाद फुलवावु, गुजरा नपाका नगर प्रमुख सन्तलाल चौधरी सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कांग्रेस एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ता जसपा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत सहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ