काठमाडौं, ९ फागुन । पुनः विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक बस्न लागेको छ ।
आगामी शुक्रबार ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि केन्द्रीय कार्यकारी समितिको बैठकका लागि अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेका छन् ।
वर्तमान राजनीतिक परिस्थिति, स्थानीय चुनाव, पार्टीको विधान अधिवेशन, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने अध्यक्ष यादवले जनाएका छन् ।
पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको जसपाले हालसम्म एमसीसीबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको पक्षमा खुलेरै अभिव्यक्ति दिँदै आएपनि अध्यक्ष यादव मौन देखिएका छन् ।
अहिले अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा.भट्टराईबीच दूरी बढ्दै गएको छ । स्रोतका अनुसार भट्टराई पार्टी विभाजनको तयारीमा लागेका छन् ।
निर्वाचन आयोगमा आँखा छापसहितको पार्टी दर्ता भएपछि भट्टराईप्रति आशंका बढ्दै गएको छ । जसपाकै यादव पक्षीय नेताहरुले भट्टराई पार्टी विभाजनमा लागेको आरोप लगाउन थालेका छन् ।
शुक्रबार बस्ने बैठकले जसपा विभाजन हुने कि बाहिरी हल्ला मात्रै रहेको प्रष्टिनेछ ।
तपाईको प्रतिक्रिया