काठमाडौं, १० फागुन । छिमेकी मित्रराष्ट्र भारतको ७४औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले आइतबार एक समारोहको आयोजना गरेको थियो ।
सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।
नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए ।
भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहो¥याए ।
राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परि मधुलिका रावत र अन्य ११ जना सैनिक सहित दिवंगत भएका जनरल विपिन रावत प्रति श्रद्धञ्जलि अर्पण गरिएको थियो ।
प्रसिद्ध प्रबल जनसेवा श्री जनरल प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।
उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारी विरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकिकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
सोही अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया