जनकपुरधाम, १० फागुन । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली केन्द्रीय नेताहरु तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गरी लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्वराष्ट्रियसभा सदस्य वृषेश चन्द्र लाल, केन्द्रीय नेता डा.विजय कुमार सिंह, धिरेन्द्र सिंह लगायतका प्रभावशाली केन्द्रीय नेताहरु पार्टी परित्याग गरी तमलोपामा प्रवेश गरेको घोषणा गरेका छन् ।
लामो समयदेखि अध्यक्ष महन्थ ठाकुरलाई साथ दिँदै आएका प्रभावशाली नेता बृषेश चन्द्रलालले लोसपाबाट अलग भएका हुन् ।
ठाकुर नेतृत्वको लोसपा परित्याग गरी लालले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको घोषणा गरेका हुन् । तत्कालीन जनता समाजवादी पार्टी,नेपाल (जसपा) बाट विभाजित भई भदौ ९ गते लोसपा गठन भएको हो ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गरी लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, संविधानसभा सदस्य समेत रहेका केन्द्रीय कार्यकारिणी सदस्य डा.विजयकुमार सिंहलगायतले लोसपा परित्याग गरेको घोषणा गर्दै तमलोपामा प्रवेश गरेको घोषणा गरे । लालसहितका नेताहरु पार्टी अध्यक्ष ठाकुरप्रति असन्तुष्ट जनाउँदै आएका थिए ।
जसपा नेपालबाट विभाजित भएर ७ महिना अघि बनेको लोसपा नेपालभित्र अध्यक्ष ठाकुरले एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र लोसपा गठनपछि पनि एकलौटी ढंगले अघि बढेका कारण आफूहरुले लोसपा नेपाल परित्याग गरेको नेता लालले बताए ।
रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता छ । कर्ण नेता लाल निकटका हुन् । तत्कालीन जनकपुर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेता लाल प्रथम मधेस आन्दोलनपछि काँग्रेस छोडेर तमलोपा गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘मधेसका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई आगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकाले हामी आवद्ध रहेका आ–आफ्ना दलहरु आजैदेखि परित्याग गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ पत्रकार सम्मेलनमा नेता लालले भने ।
संविधानसभा सदस्य डा. सिंहले फागुन १५ गते तमलोपालाई सुदृढीकरण र पुनर्गठन गरी अघि बढाइने बताए । उनले मधेसको एजेण्डा छाडेर लोसपा नेपालका अध्यक्ष ठाकुुरले सत्तामा जानका लागि पार्टीको दुरुपयोग गरेको आरोपसमेत लगाए ।
लोसपा परित्याग गर्नेहरुमा लोसपाका केन्द्रीय सदस्य रामजी राय, केन्द्रीय सदस्य धिरेन्द्र बहादुर सिंह, सतिष लाल दास, योगेन्द्र राम, उमेश मण्डल, ब्रज किशोर सिंह, नेतृ विन्दु देवीलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लाबाट आएका करिब डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता छन् ।
लालले लोसपा संस्थागत रुपमा चल्न नसकेको आरोप लगाउँदै मधेस आन्दोलनको मर्म र भावनाविपरीत मधेसका नेताहरु सत्ता र कुर्सीका लागि मात्र लागेको आरोप लगाए ।
‘लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने ।



तपाईको प्रतिक्रिया