नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

समाचार

काठमाडौं, ११ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को बैठक आजदेखि बस्दैछ । दुई दिनसम्म चल्ने बैठक काठमाडौंको होटल हायातमा बस्ने छ ।

प्रत्येक ६ महिनामा आयोजना गरिने यस्तो बैठक २ वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन भारतलाई पटक–पटकआग्रह गर्दै आएको भएपनि भारतले कोरोनाको महामारीको कारण देखाएपछि बैठक नबसेको हो ।

यो बैठक संयुक्त ऊर्जा सचिवस्तरीय नवौं बैठक हो । बैठकको पहिलो दिन नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्ने छ ।

बैठकले टुंगो लगाएका विषयहरु भोली हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले गर्नुहुनेछ ।

बैठकमा मुख्य रुपमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना र निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुनेछ ।

बैठकमा नेपाल र भारतबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण आयोजनाको विषयलाई छलफलको मुख्य एजेन्डाका रुपमा लगिने छ । जसमा ४ सय किलोभोल्ट क्षमताका न्यू बुटवल–गोरखपुर, लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइन निर्माणको विषयलाई प्राथमिकतामा राखिनेछ ।

त्यस्तै नेपालले भारतमा बिजुली बेच्नका लागि अनुमति मागेका आयोजनाहरुको विषय पनि बैठकमा उठाइनेछ । अहिले नेपालले ८ वटा आयोजनाको साढे ८ सय मेगावाटभन्दा बढी बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ । तर भारतले भने २४ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्नका लागि अनुमति दिएको छ ।

बैठकमा नेपालको बिजुली बंगलादेशमा निर्यात गर्नका लागि सहजता प्रदान गर्न पनि नेपालले भारतलाई यो बैठकमार्फत आग्रह गर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ