राजविराजमा पहिलो पटक मिस्टर एण्ड मिस कलेज आइकन हुँदै

समाचार

राजविराज, १२ फागुन । सप्तरीमा पहिलो पल्ट उच्च माविमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ ।

लायन्स क्लब अफ राजविराज सिटीको आयोजना र रक्षा मिडिया हाउस प्रालि काठमाडौंको व्यवस्थापनमा आगामी शनिबार हुने कलेज आइकनको अन्तिम तयारीअन्तर्गत प्रि–जजिङ सम्पन्न भएको छ ।

सहभागीहरूको वाककला र व्यक्तित्व आदिका आधारमा राजविराजमा भएको अन्तर्वार्ता र प्रश्नोत्तरको माध्यमबाट निर्णायकहरूले फाइनल चरणको लागि १७ जनालाई छनोट गरेको आयोजकले जनाएको छ ।

किशोर किशोरीहरूको क्षमता विकास र अभिवृद्धिका लागि हुन गइरहेको कलेज आइकनको प्रि–जजिङ्गका क्रममा राजविराज लिटिल आइकन २०२१ का बिजेता आयुषी मिश्र र उपविजेता मानसी पोखरेलको समेत उपस्थिती रहेको थियो ।

पूर्वाञ्चल तथा काठमाडौंबाट आउने प्रतिष्ठित व्यक्तित्वहरूले ग्राण्ड फिनालेबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन २०२२ छनोट गर्ने आयोजकले जनाएको छ । फाइनलका लागि राजविराजस्थित शिवशंकर सिनेमा हलमा भव्य तयारी भइरहेको लायन्स कल्ब अफ राजविराज सिटीले जनाएको छ ।

सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाक, व्यक्तित्व विकासका विषयमा विशेषज्ञबाट सहभागीहरूलाई प्रशिक्षित गराइएको व्यवस्थापक रक्षा मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले बताए ।

कलेज आइकनका विजेताहरूलाई भव्य समारोहबीच ताजसहित क्राउन, प्रमाणपत्र र उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । विजेताहरूलाई अभिभावकको मञ्जुरी भएमा म्युजिक भिडिओका लागि समेत मौका दिने राउतले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ