भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप सहयोग

समाचार

काठमाडौं, १२ फागुन । भारतीय सेनाले नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान गरेको छ ।

भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज नेपाली सेनालाई बिहीबार काठमाडौंमा हस्तान्तरण गरेको हो ।

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई खोप हस्तान्तरण गरे ।

लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ