सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन सरकारको निर्देशन

समाचार

जनकपुरधाम, १२ फागुन । मधेश प्रदेश सरकारले राजधानी क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गको तथ्यांक उपलब्ध गराउन धनुषा र महोत्तरीको नापी, मालपोत र गुठी संस्थान कार्यालयलाई निर्देशन दिएको छ ।

मधेश सरकारले प्रदेशको स्थायी राजधानी कायम भएपछि मन्त्रालयको स्थायी संरचना निर्माणका लागि जग्गा खोज्ने क्रममा धनुषा र महोत्तरीका मालपोत, नापी तथा गुठी संस्थान कार्यालयलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेशको राजधानीको चार किल्लाभित्र पाँच बिघाभन्दा बढी क्षेत्रलफलका सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री यादवको संयोजकत्वमा समिति गठन गरेर जग्गा खोजी गरिरहेका छन् ।

समितिका संयोजक मन्त्री यादवले धनुषा र महोत्तरीको मालपोत, नापी र गुठी संस्थाका प्रमुखसँग संयुक्त बैठक गरी सात दिनभित्र तथ्यांक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री यादवले राजधानीको चार किल्लाभित्र रहेका पाँच बिघाभन्दा बढी खाली जग्गाको तथ्यांक उपलब्ध गराउन भनेको भन्दै उनले तथ्यांक उपलब्ध भएपछि जग्गा खोज्न सहज हुने बताए ।

यादवले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि अहिले जनकपुर विमानस्थल नजिक रहेको गुठी संस्थानको १० बिघा र पुल्चोकनजिक रहेको ५२ बिघा जग्गाको निरीक्षण तथा अनुगमन गरिसकेको बताए ।

दुईवटा जिल्ला मिलेर मधेस प्रदेशको राजधानी बनेको छ । मधेस प्रदेश सरकार गठन भएपछि जनकपुर चुरोट कारखानाको भवन तथा परिसरबाट प्रशासनिक काम हुँदै आएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामको मुर्लीचौकस्थित भने बाँकी सबै मन्त्रालय चुरोट कारखानामा छ । कुवारामपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा अहिले प्रदेशसभा छ ।

जग्गा खोज्नका लागि रहेको समितिमा उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ